RayNewsDaily
मौद्रिक नीति सार्वजनिक : संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज (पूर्ण पाठ सहित)  

रे समाचार/काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो । त्यसअघि राष्ट्रबैंकको संचालक समितिले मौद्रिक नीति स्वीकृत गरेको थियो । गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको सञ्चिति बढेको र वित्तीय संस्थाहरुमा तरलता बढेकाले ब्याजदर घट्दोक्रममा रहेको बताउनु भयो ।

उहाँले देशको वर्तमान अवस्थालाई विश्लेषण गर्दै लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो । उहाँले मुद्रा स्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने र ७ महिनाको लागि विदेशी बस्तु तथा सेवा आयात गर्ने गरी विदेशी मुद्राको सञ्चिति राख्ने नीति लिएको जानकारी दिनुभएको छ ।

गभर्नर अधिकारीले बजेटमा व्यवस्था गरिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोगी हुने गरी नीति तय गरिएको बताउनु भयो । सो नीतिले संस्थागत शेयर धितो कर्जामा तोकिएको अधिकतम सीमा खारेज गरेको छ । व्यक्तिगततर्फको शेयर धितो कर्जामा भने मौद्रिक नीतिले केही नयाँ व्यवस्था ल्याएको छैन ।    
    
“मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु २० करोडको सीमा खारेज गरिनेछ”, मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भन्नुभयो ।    
    
धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीलाई सहमति प्रदान गरिसकेको मौद्रिक नीतिमा उल्लेख छ । 

 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update