रे समाचार/काठमाडौं । दुई पटक सर्किट ब्रेक लागेको शेयर बजार आज उच्च अंकले वृद्धि भएको छ । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आज बजारमा वाणिज्य बैंकहरूको शेयर उच्च अंकले वृद्धि भएसँगै समग्र परिसूचकमा हरियाली छाएको हो ।
शेयर बजार मापक नेप्से परिसूचक आज ११३.४२ अंक बढेर २६८१.५६ विन्दुमा पुगेको छ । आज बैंकिङ्ग उपसमूहको परिसूचक उच्च दरमा बढेको छ । आज बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ९.८९ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा सूचीकृत सबै बैंकहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै बैंकिङ्ग उपसमूहको परिसूचक पनि उच्च दरमा बढेको हो । आज १९ वटा वाणिज्य बैंकहरुमध्ये १८ वटाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले वाणिज्य बैंकहरुको खराब कर्जा घटाउने उद्देश्यले असल कर्जामा १.१ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्ने लगायतका सकारात्मक व्यवस्था गरेको थियो । ती व्यवस्थाहरूले बैंकहरुको नाफा बढाउने भएकोले लगानीकर्ताहरू वाणिज्य बैंकहरुमा आकर्षित भएका हुन् ।
नेप्सेको वृद्धिलाई आज भोल्युमले पनि साथ दिएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार १४ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएकोमा आज १५ अर्ब ८१ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । यसैगरी, एनआईसी एशिया बैंकको करिब ३५ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्स र शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड नाघेको छ । आज लघुवित्त उपसमूहको परिसूचक मात्र नकारात्मक भएको छ । सो उपसमूहको परिसूचक ०.१८ प्रतिशतले घटेको छ ।