RayNewsDaily
भेनेजुएलामा मडुरो राष्ट्रपतिको चौथो कार्यकालका लागि अनुमोदित, विपक्षीद्वारा मतपरिणाम अस्वीकार       
राष्ट्रपतीय निर्वाचनमा पुन: विजयी भएपछि समर्थकहरूसँग निकोलस मडुरो । तस्वीर : एएफपी

काराकस, भेनेजुयला । भेनेजुएलाको राष्ट्रपति चुनावमा निकोलस मडुरो चौथो कार्यकालका लागि विजयी घोषित हुनुभएको छ ।    
    
मडुरोले ५१.२ प्रतिशत मत प्राप्त गरी विजयी हुनुभएको र विपक्षी उम्मेदवार एडमुन्डो गोन्जालेज उरुटियाले ४४.२ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन परिषद्ले जनाएको छ ।    
    
विपक्षी र क्षेत्रीय छिमेकी केही मुलुकले तत्काल आधिकारिक नतिजालाई अमान्य बताएका छन् ।

venezuala-opposition-leader-1722240369.jpg

विपक्षी पार्टी अन नुवो टिम्पोका नेता ओमर बारबोजा मिडियासँग कुरा गर्दै । तस्वीर : एएफपी

निर्वाचन परिषद्बाट मतपरिणामको घोषणापछि राष्ट्रपति मडुरोले राष्ट्रपति भवनमा समर्थकहरूलाई सम्बोधन गर्नुभएको छ। सम्बोधनमा उहाँले भन्नुभयो, “भेनेजुएला र विश्वका जनतासामु बोलिभारियाली गणतन्त्र भेनेजुएलाको पुनः निर्वाचित राष्ट्रपतिमा म निर्वाचित भएको छु । मेरो आगामी जिम्मेवारी देशमा शान्ति, स्थायित्व र न्यायका लागि हुनेछ । सबैले शान्ति र सुव्यवस्थाको सम्मान गरौँ ।”    
    
तर भेनेजुएलाको विपक्षी गठबन्धनले निर्वाचन परिषद् तथ्याङ्क (मत परिणाम) लाई अस्वीकार गर्दै आफूले ७० प्रतिशत मत प्राप्त गरेको दाबी गरेको छ ।    
    
“हामी भेनेजुएला र विश्व समुदायलाई भेनेजुएलाको नयाँ राष्ट्रपतिमा डमुन्डो गोन्जालेज उरुटिया निर्वाचित भएको जानकारी गराउन चाहन्छौँ,” विपक्षी नेता मारिया कोरिना माचाडोले पत्रकार सम्मेलन गरी बताउनुभयो । उहाँले चुनावमा आफ्नो दलले बृहत् समर्थनसहित निर्वाचित बनेको दावी गर्नुभयो ।    
    
कोस्टारिकाका राष्ट्रपति रोड्रिगो चाभेजले नतिजालाई ‘कपटपूर्ण’ भन्दै निर्वाचनको आधिकारिकतामाथि प्रश्न उठाउनुभएको छ भने चिलीका राष्ट्रपतिले परिणामलाई ‘विश्वास गर्न’ कठिन भनी प्रतिक्रिया दिनुभएको छ ।    
    
पेरुले मतपरिणामबारे परामर्शका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको बताएको छ ।    
    
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भेनेजुएलाको निर्वाचन परिणामले भेनेजुएलाका मतदाताको इच्छालाई प्रतिबिम्बित नगरेको भन्दै मतपरिणामप्रति अविश्वास प्रकट गर्नुभएको छ । एएफपी

 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update