काठमाण्डू । नेपाली पौडीबाज डुवाना लामा पेरिस ओलम्पिक-२०२४ आन्तर्गत पौडी खेलको हिट चरणबाटै बाहिरिनु भएको छ । डुवानाले दुई सय मिटर फ्रि-स्टाइलमा निर्धारित दूरी पार गर्न २ मिनेट २०.४७ सेकेन्ड खर्चिनु भएको थियो । सातजना खेलाडी भएको हिट वानमा डुवाना अन्तिम स्थानमा रहनुभयो । यससँगै तीनजना नेपाली खेलाडीहरुको ओलम्पिक यात्रा समाप्त भएको छ ।
यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ र सुटिङका सुम्मिता नेपाल पहिलो चरणबाटै बाहिरी सक्नु भएको छ । वाइल्ड कार्डमार्फत डुवानाले पेरिस ओलम्पिकको यात्रा तय गर्नुभएको हो । अब ओलम्पिकमा जुडोकी मनिता श्रेष्ठ प्रधान, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र पौडीका एलेक्स शाहले खेल खेल्न बाँकी रहेको छ ।
३३औँ गृष्मकालीन ओलम्पिक खेलकूद फ्रान्सको राजधानी पेरिसमा औपचारिक रुपमा सुरु, नेपाली पौडीबाज डुवाना लामा पेरिस ओलम्पिक-२०२४ आन्तर्गत पौडी खेलको हिट चरणबाटै बाहिर ।।
३३औँ गृष्मकालीन ओलम्पिक खेलकूद फ्रान्सको राजधानी पेरिसमा औपचारिक रुपमा शुक्रबार राती सुरु भएको हो । फ्रान्सको पेरिसस्थित सेन नदीमा शुक्रबार राति भव्य समारोहबीच सो खेलकूदको उद्घाटन गरिएको थियो ।
ओलम्पिकको औपचारिक उद्घाटन शुक्रबार गरिए पनि केहि खेल भने जुलाई २४ तारिखदेखि नै सुरु भएका हुन् । फुटबल, आर्चरी, रग्बी सेभेन्स र ह्यान्डबल उद्घाटनअघि नै सुरु भइसकेका थिए । ओलम्पिकको इतिहासमा उद्घाटन समारोह रङ्गशाला बाहिर भएको यो पहिलो पटक हो ।
ओलम्पिकमा सहभागी टोलीलाई डुङ्गा र ‘क्रुज’ मा राखेर सेन नदीमा मार्च पास गराइएको थियो । पेरिसस्थित पोन्ट दि अस्टरलिजबाट सुरु भएको मार्च पास विश्वचर्चित आइफल टावरमा पुगेर टुङ्गिएको थियो । कडा सुरक्षाबीच सुरु भएको उद्घाटन समारोहको मार्च पासका लागि ८५ वटा डुङ्गाहरु प्रयोग गरिएको थियो ।
ओलम्पिक मार्च पासमा नेपालको झण्डा टेबल टेनिसका श्यान्टु श्रेष्ठ र जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले बोक्नुभएको छ । लैङ्गिक समानतालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले टोकियो ओलम्पिक-२०२० को संस्करणदेखि पुरुष र महिला खेलाडीलाई मार्च पासमा राष्ट्रिय झण्डा बोक्न दिन सुरु गरेको थियो ।
मार्च पासमा श्यान्टु र मनितासहित नेपालबाट आठ जनाको सहभागिता रहेको थियो । नेपाली टोलीका ‘सेफ दि मिसन’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, एनओसीकी उपाध्यक्ष ज्योति राणा, एनओसीका सचिव रामजीबहादुर श्रेष्ठ, पौडी खेलाडी एलेक्जेन्डर शाह र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सहभागी हुनुहुन्थ्यो । मार्च पासमा नेपालसहित नामिबिया र नाउरुको टोलीलाई एउटै डुङ्गामा राखिएको थियो ।
मार्च पासमा सहभागी दुई सय ६ वटा राष्ट्रका खेलाडी र अफिसियल गरेर करिब सात हजार मानिसहरु सहभागी भएका थिए । फ्रान्सले एक सय वर्षपछि ओलम्पिक आयोजना गरेको हो ।
पछिल्लो पटक सन् १९२४ को आठौँ सँस्करण पेरिस सहरमै भएको थियो । फ्रान्सले ओलम्पिक आयोजना गरेको यो तेस्रो पटक हो । सन् १९०० को ओलम्पिक पनि फ्रान्समै भएको थियो ।