रे समाचार/काठमाडौं । केही दिनदेखि लगातार उच्च अंकले बढिरहेको शेयर बजारमा आज गिरावट आएको छ । हिजो ११३ अंक बढेको शेयर बजार मापक नेप्से परिसूचक आज २०.४६ अंक घटेर २६६१.०९ विन्दुमा झरेको छ ।
नेप्सेमा करेक्सन भए पनि आज भोल्यूम भने वृद्धि भएको छ । हिजो १५ अर्ब ८१ करोडको शेयर खरिदबिक्री भएकोमा आज १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.७७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, मन्दाकिनी हाइड्रोपावर र बाराही हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने जानकी फाइनान्स र गणपति लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ८.३५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६१ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, कुमारी बैंकको ५५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कारोबार रकम ३९ करोड नाघेको छ । १३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ वटा उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत बढेको छ भने जलविद्युत् उपसमूहको परिसूचक ०.८१ प्रतिशतले वृद्धि भएको छ । व्यापार उपसमूहको परिसूचक भने आज सर्वाधिक ४.५४ प्रतिशतले घटेको छ ।