रे समाचार/काठमाडौं । दिनभर तीव्र उचारचढाव भएको शेयर बजार आज बढेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३५.५५ अंकले वृद्धि भई २६९६.६५ विन्दुमा पुगेको छ ।
आज बजार खुलेपश्चात २६०९ विन्दुसम्म ओरालो लागेको नेप्से कारोबारको अन्तिम समयतिर बढेर २७०९ विन्दुसम्म पुगेको थियो । अन्तिम समयमा भने नेप्से परिसूचक २७०० विन्दुभन्दा तल नै बन्द भएको छ । नेप्से बढे पनि आज भोल्यूम भने हिजोको तुलनामा घटेको छ । हिजो साढे १९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज होटल तथा पर्यटन र फाइनान्स उपसमूहमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.९९ प्रतिशतले वृद्धि भएको छ भने फाइनान्स उपसमूहको परिसूचक ५.९८ प्रतिशतले बढेको छ । जलविद्युत र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने बैंकिङ्ग, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६० करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, शिवम् सिमेन्टको साढे ३७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको करिब साढे ३६ करोडको शेयर किनबेच भएको छ ।
आज ७ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत् कम्पनी, नेपाल वेयरहाउजिङ्ग कम्पनी, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल फाइनान्स र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । एशियन हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।