केरला । दक्षिण भारतको केरला राज्यमा पहिरो जाँदा एक नेपालीसहित ४५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । पहिरोमा परेर मृत्यु भएकामध्ये एक नेपाली शिशु रहेको जनाइएको छ । उनी स्थानीय नेपाली परिवारका बच्चा हुन् ।
केरलाको वायनाड जिल्लामा मंगलबार बिहान पहिरो गएको हो । पहिरोमा परेर कैँयौं बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय वायनाडले जनाएको छ । प्रहरीले ३६ जनाको शव पहिरो गएकै स्थानमा र ९ जनाको शव चलियार नदीले बगाएर मालाप्पुरम जिल्लामा भेटिएको जनाएको छ । पहिरोमा परेकाहरूको उद्धार र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । पुलहरू भत्केको र ठूलो पानी परिरहेकाले उद्धारमा समस्या भएको पनि जनाइएको छ ।
प्रदेश स्वास्थ्यमन्त्री विना गोरेजले क्षतिको एकिन विवरण दिन सक्ने अवस्था नरहेको बताउनु भएको छ । पछिल्लो जानकारी अनुसार ७० जना घाइतेको उपचार भइरहेको र १०१ जनाको उद्धार गरिएको विवरण आएको उहाँले बताउनुभयो । पहिरोले केरलाका चार वटा गाउँ प्रभावित भएका छन् । फरक फरक स्थानमा तीन ठूला पहिरो गएको र अहिले पनि त्यहाँ लेदो, ढुंगामाटो बगिरहेको प्रहरीले जनाएको छ । भारी वर्षाका कारण केरलाका १० जिल्लाका विद्यालय बन्द गरिएको छ । भारत सरकारले पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूको लागि ५० हजार राहत घोषणा गरेको छ । एजेन्सी