RayNewsDaily
शेयर बजारमा उच्च वृद्धि, ऐतिहासिक कारोबार

रे समाचार/काठमाण्डू । शेयर बजारमा आज हालसम्मकै उच्च कारोबार भएको छ । नेपाली शेयर बजारको इतिहासमै आज पहिलो पटक २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँबरारको ५ करोड ९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस अघि २०७८ साउन ३१ गते शेयर बजार मापक नेप्से ३ हजार विनदु हाराहारी पुगेको बेला २१ अर्ब ६४ करोडका शेयर खरिदबिक्री भएको थियो ।

आज नेप्से परिसूचक ६४.२५ अंक बढेर २७६०.९० विन्दुमा पुगेको छ । आज १० स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ्ग कम्पनी र प्रोग्रेशिभ फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आत्मनिर्भर लघुवित्तको शेयरमूल्यमा भने आज सर्वाधिक ६.५२ प्रतिशतको गिरावट आएको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, माउन्टेन इनर्जीको ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको ४० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज  १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.०८ प्रतिशतले वृद्धि भएको छ । लगानी उपसमूहको परिसूचक ६.८९ प्रतिशतले बढेको छ भने विकास बैंक र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update