RayNewsDaily
 सञ्चार माध्यमका समस्या सम्बोधन गर्न मिडिया अलाइन्स नेपालद्वारा अर्थमन्त्रीलाई ज्ञापनपत्र

रे समाचार/काठमाण्डू । आम सञ्चार माध्यममा देखिएका समस्याहरुको समाधानको माग गर्दै मिडिया अलाइन्स नेपालले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।

आज (बुधबार) सिंहदरबारमा मिडिया एलाइन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकारसहितको प्रतिनिधिमण्डलले आम सञ्चार माध्यममा देखिएका समस्या समाधान गर्न राहत र कर छुटको व्यवस्था लगायतका विभिन्न मागहरु समेटिएको ज्ञापन पत्र मन्त्री पौडेललाई बुझाएको हो । एलाइन्सले आम सञ्चार माध्यमलाई दिइने विज्ञापनमा रकमको सीमा नलाग्ने व्यवस्था गरिदिन, मदिराजन्य पदार्थको विज्ञापनमा लगाईको रोक खुला गर्न, सम्पूर्ण विज्ञापनहरु बिज्ञापन बोर्डमार्फत नगर्न, लोककल्याणकारी विज्ञापनमा समय अनुसार बृद्धि गर्न, सञ्चारमाध्यमलाई तीन प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलव्ध गराइदिन माग गरेको छ ।

अध्यक्ष राजकर्णिकारले नेपालका विभिन्न ऐतिहासिक राजनीतिक परिवर्तनहरुमा नेपाली आम सञ्चार माध्यमहरुले महत्वपूर्ण योगदान गरेको स्मरण गराउँदै पछिल्लो समय राजनीतिक नेतृत्वका अगाडी आम सञ्चार ओझेलमा परेको गुनासो समेत गर्नुभयो । 

एलाइन्सले बुझाएको ज्ञापन पत्र बुझ्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले आम सञ्चार माध्यममा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । एलाइन्सले उठाएका मुद्दाहरुबारे सघन ढंगले गृहकार्य गरेर समाधानको पहल गर्ने मन्त्री पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री पौडेलले राजनीतिक परिवर्तनका लागि आम सञ्चार माध्यमले पु-याएको भूमिकाको प्रशंसा समेत गर्नुभएको थियो । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update