RayNewsDaily
सहकारी पीडितद्वारा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ

रे समाचार/काठमाडौं । महिनौंदेखि संघर्ष गरे पनि सरकारले समस्या समाधानमा कुनै अग्रसरता नदेखाएको भन्दै सहकारी पीडितहरूले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेका छन् ।

गत जेठ १० गतेदेखि लगातार आन्दोलनमा रहेका पीडितहरूले सहकारीमा फसेको आफ्नो रकम फिर्ता ल्याउन कुनै काम नभएको आरोप लगाएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघमा आबद्ध रहेर मुलुकभरका तीन सय ५० वटा सहकारीका १४ लाख पीडितहरूले आन्दोलनमा समर्थन जनाउँदै आएका छन् ।

यसअघि गत चैत ८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र पीडितहरूबीच समस्या समाधानको लागि सहमति भएको थियो । पीडितहरूबाट सहभागिता रहने गरी अधिकार सम्पन्न छानबिन समितिको गठन गर्ने, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई सुदृढीकरण गरेर समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाको सम्पत्ति र दायित्वको व्यवस्थापन गरेर पीडितहरूको बचत फिर्ता गर्ने लगायतका सम्झौता भएको थियो ।

सरकारले सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति समेत बनाएको भए पनि त्यसको काम सकेर प्रतिवेदन बुझाउन बाँकी रहेको छ । एमाले सांसद सूर्यबहादुर थापाको नेतृत्वमा बनेको यो समितिले सरोकारवाला निकायहरूसँग छलफल गरिरहेको छ ।

सरकारले विभिन्न समयमा छानिबन समिति बनाएर सरकारी पीडितको समस्या समाधानमा पहल गरे पनि आफ्नो फसेको पैसा फिर्ता हुनेमा उनीहरू ढुक्क हुन सकेका छैनन् ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update