RayNewsDaily
शेयर बजारमा सामान्य गिरावट,  आज पनि २१ अर्बमाथिको कारोबार

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंक घटेर बन्द भएको छ । आज दिउँसोको कारोबारमा शेयरबजार मापक नेप्से परिसूचक वृद्धि भई २८०५.५७ विन्दुसम्म पुगे पनि अन्तिममा ५.३१ अंक घटेर २७५५.६० विन्दुमा झरेको छ ।

कारोबार रकम पनि हिजोको तुलनामा केही घटेको छ । हिजो २१ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएकोमा आज २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, शुभम् पावर, सिटी होटल, नेपाल हाइड्रो डेभलोपर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स, सानिमा माई हाइड्रोपावर लगायतका स्टकहरूको मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । पिपुल्स हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक ९.१३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५९ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, शिवम् सिमेन्ट्सको करिब ४४ करोडको शेयर कारोबार भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे ४२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको परिसूचक बढेको छ भने ७ वटाको परिसूचक घटेको छ । आज जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.६९ प्रतिशतले वृद्धि भएको छ । लगानी उपसमूहको परिसूचक २.७४ प्रतिशतले बढेको छ भने वित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । व्यापार उपसमूहको परिसूचकमा भने ३.५४ प्रतिशतले गिरावट आएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update