RayNewsDaily
बंगलादेशकी प्रधानमन्त्री हसिना सरकारी निवास छोडी ‘सुरक्षित स्थान’ तर्फ प्रस्थान       

ढाका । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो राजीनामाको माग गर्दै व्यापक विरोध प्रदर्शन भइरहेका बेला राजधानी ढाका छोडेको उहाँनिकट स्रोतले सोमबार जानकारी दिएको छ ।    
    
नाम उल्लेख नगर्ने शर्तमा उक्त स्रोतले भन्यो, “प्रधानमन्त्री र उहाँकी बहिनी प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको छ । “उहाँले देशबासीका नाममा सम्बोधन रेकर्ड गराउन चाहनुभएको थियो । तर त्यसो गर्ने मौका पाउनुभएन ।”    
    
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बङ्गलादेशका सेना प्रमुख वाकर-उज-जमानले आज देशबासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई जानकारी दिएको केही समयपछि नै प्रधानमन्त्रीले सुरक्षालाई मध्यनजर गर्दै सरकारी निवासबाट बाहिरिनुभएको हो ।    
    
आन्दोलनमा प्रहरीले धरपकड हुँदा भएको क्षतिपछि सडक प्रदर्शनमा जनसहभागिता बढ्दै जाँदा आन्दोलनलाई थप उर्जा मिलेको छ । प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागलाई बुलन्द पारेका छन् । एएफपी

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update