रे समाचार/काठमाडौं । केही दिनदेखि लगातार बढिरहेको शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक ५.१८ प्रतिशत अर्थात १४५.०५ अंक घटेर २६५१.३२ विन्दुमा झरेको छ । आज कारोबार भने हालसम्मकै उच्च भएको छ । नेप्सेको इतिहासमै आज सबभन्दा धेरै २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस अघि गत साताको बुधबार नेप्सेमा २१ अर्ब ९१ करोडको शेयर कारोबार भएको थियो ।
नेप्से उच्च अंक घटे पनि आज थ्रिस्टार हाइड्रोपावर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले घटेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ । आज ८ वटा स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, शुभम् पावर, हाथवे इन्भेष्टमेन्ट र ओरियन्टल होटलको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल रि इन्स्योरेन्सको ४८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिईडिबी हाइड्रोपावरको ४३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ८ प्रतिशतभन्दा बढीले घटेको छ । यसैगरी, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढीले घटेको छ ।