रे समाचार/काठमाडौं । शेयर बजार आज उच्च अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक ९४.४६ अंकले वृद्धि भई २८६०.८४ विन्दुमा पुगेको छ । यसअघि नेप्से सूचकले २८०० विन्दुलाई पटक पटक परिक्षण गरिरहेको थियो । तर त्यस विन्दुलाई पार गर्न सकेको थिएन ।
आज सो विन्दुलाई पार गरेर नेप्सेले सकारात्मक गति तय गरेको हो । यसैगरी आज कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ । केही दिनअघि २१ अर्ब ९१ करोडसम्मको कारोबार भएकोमा आज त्यो रेकर्डलाई तोड्दै झण्डै २६ अर्बको शेयर कारोबार भएको छ । आज २५ अर्ब ७७ करोड ९४ लाख ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट उपसमूहको सूचक ४ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । आज कारोबारमा आएका ९ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ भने १७ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । कुथली बुखरी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने युनिलिभर नेपालको ३.८५ प्रतिशत र ओरियन्टल होटलको २.४८ प्रतिशतले घटेको छ ।
हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब ५२ करोडको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको १ अर्ब १६ करोड र नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको ६८ करोडको कारोबार भएको छ । यसैगरी बजार पूँजीकरणमा पनि आज नयाँ रेकर्ड कायम भएको छ । आज कुल बजार पूँजीकरण ४५ खर्ब ४१ अर्ब पुगेको छ । यसअघि ४४ खर्ब ६८ अर्बसम्म बजार पूँजीकरण पुगेको थियो ।