RayNewsDaily
उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिवबीच शिष्टाचार भेटवार्ता   

काठमाण्डू । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।    
    
 सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा उहाँहरुबीच सहरी विकास, फोहरमैला व्यवस्थापन, बागमती, विष्णुमतीलगायत नदीको स्वच्छता र सफाइलगायत नेपाल–भारतबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा विदेश सचिव मिस्रीले उपप्रधानमन्त्री सिंहलाई कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिनुभएको थियो ।    
    
उपप्रधानमन्त्री सिंहले भारतमा चलिरहेको स्वच्छ भारत अभियान र गङ्गा नदी सफाइको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने उल्लेख गर्दै सहकार्यका लागि आग्रह गर्नुभएको थियो । यस्तै, उहाँले नेपाली नागरिकले सीमामा आवतजावतमा समस्या भोगिरहेको उल्लेख गर्दै नेपालले महाकाली नदीमा झोलुङ्गे पुल निर्माणमा भारतको सहजीकरण चाहिरहेको बताउनुभएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।    
    
नेपालको पूर्वाधार विकास, भूकम्प र कोभिड–१९ को समयमा भारतले गरेको सहयोगका लागि उपप्रधानमन्त्री सिंहले विदेश सचिव मिस्रीलाई धन्यवाद दिनुभएको थियो । “नेपालको सहरी विकासको क्षेत्रमा भारतबाट के सहयोग हुनसक्छ भन्नेबारे छलफल भयो”, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भन्नुभयो, “हामीले तुइनलाई विस्थापित गर्ने अभियान नै चलाएका छौँ । सीमा नदीमा झोलुङ्गे पुल बनाउन भारतको सहमति चाहिन्छ । त्यो सहमति लिने प्रक्रिया सरल र सहज होस् भनेर हामीले कुरा राख्यौँ । भारतीय पक्ष यसमा सकारात्मक रह्योे ।”    
    
भारतको इन्दौरलगायत केही सहरमा स्वच्छ भारत अभियानअन्तर्गत भइरहेको फोहरमैला व्यवस्थापन र गङ्गा नदी सफाइको अनुभव तथा प्रविधि आदानप्रदानमा सहकार्यबारे पनि भेटमा सकारात्मक छलफल भएको उहाँले बताउनुभयो । सो अवसरमा विदेश सचिव मिस्रीले नेपालको शान्ति, स्थायित्व र समृद्धिका लागि भारतको सधँै साथ र सहयोग रहने उल्लेख गर्नुभयो ।    
    
भारतीय विदेश सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार यहाँ आइपुग्नुभएको हो । विदेश सचिव मिस्री दुईदिने भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्किनुहुने कार्यक्रम छ । रासस   

 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update