रे समाचार/काठमाडौं । चार कारोबार दिनको निरन्तर वृद्धिपछि आज शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । गत साताको बुधबारदेखि निरन्तर उकालो लागिरहेको शेयर बजार मापक नेप्सेमा करेक्सन भएको हो ।
आज नेप्से परिसूचक ८.१८ अंक घटेर २९२३.४६ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो २७ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएकोमा आज २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, न्यादी हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर र शुभम् पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नेपाल फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ९.९३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको ८१ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको ६८ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको करिब साढे ४४ करोडको शेयर किबनेच भएको छ ।
१३ वटाउपसमूहमध्ये आज ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ वटा उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशतले वृद्धि भएको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक आज सर्वाधिक २.२५ प्रतिशतले घटेको छ । विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।