रे समाचार/काठमाडौं । शेयर बजारमा हिजो सामान्य अंकको करेक्सनपछि आज पुनः वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३४.२९ अंक बढेर २९५७.७५ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो २१ अर्ब ५१ करोडको शेयर खरिदबिक्री भएकोमा आज २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज लगानीकर्ताहरु फाइनान्स कम्पनीहरुतर्फ आकर्षित भएका छन् । १३ उपसमूहमध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ७.६७ प्रतिशतले वृद्धि भएको छ । सो उपसमूहका १५ वटै कम्पनीहरुको शेयरमूल्य वृद्धि भएको छ । आज ११ उपसमूहको परिसूचक सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मातृभूमि लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इंग्वा हाइड्रोपावर, अप्पर साङ्गे हाइड्रोपावर, गुडविल फाइनान्स र अपि पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । मन्दाकिनी हाइड्रोपावरको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८६ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, शिवम् सिमेन्ट्सको ८४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अपि पावरको साढे ७५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।