रमेश हतुवाली/काठमाण्डू । पाकिस्तानमा आज विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै ७७ औं स्वतन्त्रता दिवस मनाउँदैछ ।
७७ वर्ष अगाडि तत्कालीन भारतबाट छुट्टिएको पाकिस्तानले हरेक वर्ष १४ अगस्तलाई आफ्नो स्वतन्त्रता दिवसको रूपमा मनाउँदै आएको छ । भारतमा बेलायती शासनको अन्त्य र भारत विभाजन एकै साथ भएको थियो ।
स्वतन्त्रता दिवसको अवसरमा आज काठमाण्डूस्थित पाकिस्तानी दूतावासले विशेष कार्यक्रमकाबीच झण्डोत्तलन गरेर दिवस मनाएको छ । यसैबीच स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हासमीले नेपालमा विभिन्न पेशा र व्यवसायमा आवद्ध रहेका पाकिस्तानी नागरिकहरुलाई विशेष शुभकामना सन्देश दिनुभएको छ ।
पाकिस्तानमा आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी ७७ औं स्वतन्त्रता दिवस मनाईँदै, पाकिस्तान र नेपालबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने नेपालस्थित पाकिस्तानी राजदूतको भनाइ ।।
शुभकामना सन्देशमा राजदूत हासमीले स्वतन्त्रता दिवसको ऐतिहासिक दिनको स्मरण गर्नुहुँदै पाकिस्तान र नेपालबीचको द्विपक्षीय सम्बन्धको महत्वलाई पनि आत्मसाथ गरेको बताउनु भएको छ । दुई देशबीचको मित्रताका साझा मूल्यहरु, भौगोलिक निकटताका साथै समान क्षेत्रीय शान्ति र समृद्धिको चाहनामा निर्मित रहेको राजदूत हासमीको भनाइ छ । पाकिस्तान र नेपालले जलवायु परिवर्तन, साँस्कृतिक कुटनीति, इ-कमर्स र पर्यटन प्रवद्र्धन गर्ने नयाँ बाटाहरु खोज्दै दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य राखेको राजदूत हासमीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
पाकिस्तान र नेपालबीचको जनस्तरको सम्बन्ध अत्यन्त गाढा रहेको भन्दै राजदूत हासमीले आउँदा दिनहरुमा यो सम्बन्ध अझ वलियो र फराकिलो हुने विश्वास समेत व्यक्त गर्नुभएको छ ।