RayNewsDaily
न्यायाधीश रेग्मीको निधन 

काठमाण्डू । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।    
    
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिनुभयो । न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो ।    
    
 न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियोे ।    
    
उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको जानकारी सूचना अधिकारी आचार्यले दिनुभयो । न्यायाधीश रेग्मीको असामयिक निधन भएकामा शोक व्यक्त गर्दै उच्च अदालत पाटनका आजका निम्ति निर्धारित सबै कामकारबाही स्थगन भएका छन् । रासस   

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update