RayNewsDaily
शेयर बजारमा २९ अर्ब ९५ करोडको कारोबार, नेप्से ३ हजार विन्दुमाथि

रे समाचार/काठमाडौं । साउन महिनाको अन्तिम कारोबार दिन आज शेयर बजार उच्च अंकले वृद्धि भई नेप्से परिसूचक ३ हजार विन्दुमाथि पुगेको छ । दिउँसो कारोबारको समयमा शेयर बजार मापक नेप्से ३ हाजर ३६ विन्दुसम्म पुगे पनि अन्तिम समयमा भने बिक्रीचाप बढेपछि ४३.०५ अंकले वृद्धि भई ३०००.८१ विन्दुमा झरेको हो ।

१३ वटा उपसमूहमध्ये आज बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ५.६५ प्रतिशतले वृद्धि भएको छ । सो उपसमूहका सबै बैंकहरूको शेयरमूल्य उच्च दरमा बढेसँगै परिसूचक पनि उच्च दरमा वृद्धि भएको हो । आज म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । वित्त उपसमूहको परिसूचकमा आज सर्वाधिक ३.०५ प्रतिशतको गिरावट आको छ ।

आज कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ । आज कारोबार रकमले गत सोमबार बनाएको रेकर्ड तोडेको हो । सो दिन नेप्सेमा २७ अर्ब २४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा आज २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ३ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने एनएमबि बैंक, ग्लोबल आइएमई बैंक र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९१ करोड ३३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, सानिमा माई हाइड्रोपावरको ८३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने अपि पावरको ६५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update