रे समाचार/काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा. राणा बिहान ११ः३० बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । उहाँ परराष्ट्र मन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो ।
यस भ्रमणका क्रममा उहाँका भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ ।
मन्त्री डा. राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गर्नुभएको थियो ।
मन्त्री डा. राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी हुनुहुन्छ ।
परराष्ट्रमन्त्री डा. राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परा अनुसार नै भएको हो । परराष्ट्रमन्त्री डा. राणा यही भदौ ६ गते स्वदेश फर्कनुहुने छ ।