काठमाण्डू । तनहुँको आँबुखैरेनीमा एक भारतीय बस दुर्घटनामा हुँदा १४ जनाको मृत्यु भएको छ ।
आँबुखैरेनीको ऐना पहाराबाट यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस मर्स्याङ्दी नदीमा बसेको थियो । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ ।
घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको छ । आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनापछि नदी किनारमा अड्किएको छ ।
तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।
घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकार्य जटिल बनेको प्रहरीले जनाएको छ ।