रे समाचार/काठमाण्डू । मुग्लिन-नारायणगढ सडकखण्डको सत्रकिलोमा गुडिरहेको बसमा पहाडबाट खसेको ढुङ्गा लाग्दा १९ जना घाइते भएका छन् ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमा भरतपुर महानगरपालिका वडा नंं २९ सत्रकिलोमा आज दिउँसो १ः५० बजे ढुङ्गा लागेको थियो । ढुङ्गा लागेलगतै अनियन्त्रित भएर बस सडकमा पल्टिँदा बसमा सवार १९ जना यात्रु घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
ढुङ्गा लागेपछि अत्तिएर बस चलाउँदा बस सडकमा नै पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइराखेको छ । सडकमा बस पल्टिएपछि केहीबेर सडकअवरुद्ध भएको थियो । घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको छ ।