रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा ठूदो अंकको गिरावट आएको छ । पछिल्ला केही सातादेखि निरन्तरजसो उकालो लागिरहेको शेयर बजार मापक नेप्सेमा आज उच्च अंकको करेक्सन भएको हो ।
आज नेप्से परिसूचक ७९.८८ अंक घटेर २८९४.५७ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार १९ अर्ब १६ करोडको शेयर खरिदबिक्री भएकोमा आज १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
१३ वटा उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एउटा उपसमूहको परिसूचक बढेको छ । लघुवित्त उपसमूहको परिसूचक आज १.०८ प्रतिशत बढेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक ३.८३ प्रतिशतले घटेको छ । यसैगरी, बैंकिङ्ग, वित्त, जलविद्युत् र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचकमा २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
आज ३ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने धौलागिरी लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
कारोबार रकमका आधारमा अपि पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८४ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको करिब साढे ७३ करोडको शेयर कारोबार भएको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको करिब ५२ करोडको शेयर किनबेच भएको छ ।