रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ६.९० अंकले बढेर २८३०.१६ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य वृद्धि भएको छ ।
हिजो १३ अर्ब १० करोडको शेयर खरिदबिक्री भएकोमा आज १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज लगानीकर्ताहरु निर्जीवन बीमा कम्पनीतर्फ आकर्षित भएका छन् । १३ वटा उपसमूहमध्ये आज निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.७८ प्रतिशतले वृद्धि भएको छ । यस उपसमूह अन्तर्गतका १२ वटै कम्पनीको शेयरमूल्य बढेसँगै परिसूचक पनि उच्च दरमा बढेको छ । आज ५ उपसमूहको परिसूचक बढेको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक २.२८ प्रतिशतले वृद्धि भएको छ भने विकास बैंक उपसमूहको परिसूचक १।.३२ प्रतिशतले बढेको छ । वित्त उपसमूहको परिसूचक भने आज सर्वाधिक १.५७ प्रतिशतले घटेको छ ।
आज ११ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, विन्ध्यबासिनी हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
हिमालयन पावर पार्टनरको शेयरमूल्य भने आज सर्वाधिक ८.८६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको ३४ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, गुडविल फाइनान्सको साढे २९ करोडको शेयर कारोबार भएको छ भने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।