RayNewsDaily
तीन महिनापछि सुकेटार विमानस्थलमा हवाई उडान शुरू    

ताप्लेजुङ । प्रतिकूल मौसमका कारण तीन महिनादेखि हवाई उडान हुन नसकेको सुकेटार विमानस्थलमा आजदेखि पुनः उडान सुरु भएको छ ।     
     
मौसमको स्थितिमा क्रमिक सुधार भएसँगै उडान सुरु भएको हो । प्रतिकूल मौसमका कारण गएको जेठ ११ गतेयता उडान भएको थिएन । नेपाल वायु सेवा निगम ताप्लेजुङका प्रमुख नारायणकुमार कार्कीले ‘भिजिबिलिटी’ कम भएकाले उडान अवरुद्ध भए पनि अहिले मौसममा सुधार आएको र पर्यटकीय यामसमेत सुरु भएकाले काठमाडौँ-ताप्लेजुङ-काठमाडौँ उडान सुरु भएको जानकारी दिनुभयो ।     
     
उहाँका अनुसार तीन महिनापछि भएको उडानमार्फत काठमाडौँबाट चार यात्रु आएका छन् भने यहाँबाट दुई यात्रु काठमाडौँ गएका छन् । आगामी असोज १५ गतेसम्म साताको बुधबार एक दिन मात्र उडान तालिका राखिएको छ । त्यसपश्चात् भने सातामा तीन दिन उडान तालिका तय गरिने निगमको तयारी छ । यात्रुका लागि यहाँबाट काठमाडौँसम्म रु नौ हजार चार सय ७५ शुल्क निर्धारण गरिएको छ । रासस

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update