RayNewsDaily
शेयर बजारमा आज पनि गिरावट

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । हिजो उच्च अंकले घटेकाे शेयर बजार मापक नेप्से परिसूचक आज १२.१० अंक घटेर २७२७.३६ विन्दुमा झरेको छ । नेप्से घटे पनि दुई वटा उपसमूहको परिसूचक भने सकारात्मक रहेको छ ।

१३ वटा उपसमूहमध्ये लघुवित्त र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । आज लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशतले वृद्धि भएको छ भने व्यापार उपसमूहको परिसूचक ०.१६ प्रतिशतले बढेको छ । लगानी उपसमूहको परिसूचकमा सर्वाधिक १.३६ प्रतिशतको गिरावट आएको छ भने जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतले घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो करिब १३ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ । युनिक नेपाल लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य करिब साढे ८ प्रतिशतले बढेको छ । नेपाल फाइनान्सको शेयरमूल्य आज सर्वाधिक ८.९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको आज ४० करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, एनएलजी इन्स्योरेन्सको ३४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गुडविल फाइनान्सको करिब ३० करोडको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update