RayNewsDaily
मन्त्रिपरिषद् गठन गर्न फ्रान्सका नयाँ प्रधानमन्त्रीसामु पहिलो चुनौती

पेरिस ।  फ्रान्सका नयाँ दक्षिणपन्थी प्रधानमन्त्री मिसेल बार्नियरले दुई महिनाको राजनीतिक गतिरोधपछि संसद्मा बहुमत जुटाएर सक्षम सरकार बनाउन शुक्रबार सबै पक्षसँग परामर्श सुरु गर्नुभएको छ ।

हालै युरोपेली सङ्घ (इयु) को ब्रेक्सिट वार्ताकारका रूपमा काम गर्नुभएका ७३ वर्षीय पूर्वविदेशमन्त्री बार्नियर आधुनिक फ्रान्सको इतिहासमा सबैभन्दा वृद्ध प्रधानमन्त्री हुनुहुन्छ ।

आफूभन्दा आधा उमेरका मध्यमार्गी ३५ वर्षीय पूर्वप्रधानमन्त्री गेब्रियल अटालबाट पदभार ग्रहण गर्दै बार्नियरले ‘नम्रतापूर्वक’ आफ्नो नयाँ काम लिने वाचा गर्नुभयो । अटाल मुलुकको पहिलो खुला समलैङ्गिक प्रधानमन्त्री हुनुहुन्थ्यो ।

नयाँ प्रधानमन्त्री बार्नियरले शिक्षा, सुरक्षा र ‘अध्यागमन नियन्त्रण’ आफ्नो प्राथमिकतामा रहेको भन्दै मुलुकको ‘वित्तीय ऋण’ मा सत्य बोल्न नडराउने बताउनुभयो । यद्यपि उहाँले ‘परिवर्तन’ को पनि वाचा गर्नुभयो ।

आफ्नो मध्यमार्गी गठबन्धनले आकस्मिक निर्वाचनमा संसद्मा सापेक्ष बहुमत गुमाएपछि राष्ट्रपति इम्यानुएल म्याक्रोनले हप्तौँको गतिरोधपछि बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

युरोपेली निर्वाचनहरूमा अति दक्षिणपन्थीहरूले आफ्नो गठबन्धनलाई पराजित गरेपछि म्याक्रोनले जुनमा संसद् भङ्ग गर्दै निर्वाचन गराउने जोखिम उठाउनुभएको थियो ।

निर्वाचनमा वामपन्थी गठबन्धन फ्रान्सको सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा उदायो तर ऊसँग बहुमतका लागि आवश्यक सिट थिएन ।

यसको सट्टा मरिन ले पेनको आप्रवासनविरोधी अति दक्षिणपन्थी नेसनल र्याली (आरएन) इयुको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र फ्रान्सको तल्लो सदनमा कुनै पनि विश्वासको प्रस्तावमा सबैभन्दा धेरै मतका साथ सबैभन्दा ठूलो पार्टी बन्यो । त्यसपछि तेस्रो स्थानमा म्याक्रोनको मध्यमार्गी समूह थियो ।

संसद्मा आरएनका सांसदहरूको नेतृत्व गर्नुहुने ले पेनले नयाँ मन्त्रिपरिषद्मा आफ्नो पार्टी सहभागी नहुने बताउनुभयो । यद्यपि बार्नियरलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे उहाँले संसद्सामु बार्नियरको पहिलो नीतिगत भाषणको प्रतीक्षा गर्ने बताउनुभयो ।

लामो समयसम्म आफूलाई अति दक्षिणपन्थीविरुद्ध सुरक्षा कवचका रूपमा प्रस्तुत गरेर म्याक्रोनले ले पेनलाई वास्तविक रूपमा किङमेकर बनाउनुभएको आलोचकहरूले बताएका छन् ।

विशेषगरी वामपन्थीहरूले प्रधानमन्त्रीका रूपमा बार्नियरको मनोनयप्रति आपत्ति जनाएका छन् र सम्भवतः तल्लो सदनमा उहाँलाई हटाउन खोज्नेछन् ।

वामपन्थी प्रधानमन्त्री बन्न खोज्ने ३७ वर्षीया अर्थशास्त्री लुसी कास्टेट्सले भन्नुभयो, “मलाई विश्वासघात भएको महसुस गरेका लाखौँ फ्रान्सेली मतदाताजस्तै म अत्यन्त क्रोधित छु ।” उहाँले बार्नियरविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने वाचा गर्दै भन्नुभयो, “राष्ट्रपतिले आफूलाई आरएनसँग जोड्दै हुनुहुन्छ ।”

नयाँ मन्त्रिपरिषद् गठनबारे छलफल गर्न आफ्नो रिपब्लिकन (एलआर) पार्टीका नेताहरूसँग कुरा गर्नुअघि बार्नियरले शुक्रबार अटालसँग भेट्दै हुनुहुन्छ । अटाल राष्ट्रपति म्याक्रोनको मध्यमार्गी टुगेदर फर द रिपब्लिक (इपिआर) समूहको नेता बन्नुभएको छ ।  एएफपी

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update