RayNewsDaily
शेयर बजारमा लगातार गिरावट

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक २५.४६ अंक घटेर २७०१.९० विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ९ अर्ब ६५ करोडको शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । महुली लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । थ्रिस्टार हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

कारोबार रकमका आधारमा आज सिईडिबी हाइड्रोपावर डेभलमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४२ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । एचआईडिसिएलको ३५ करोड ८१ लाख रुपैयाँबराबरको संस्थापक शेयर कारोबार भएको छ भने ग्रिनलाइफ हाइड्रोपावरको साढे ३५ करोडको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूहको परिसूचक घटेको छ । आज लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशतले वृद्धि भएको छ भने उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ ।

विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशतले घटेको छ भने बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update