RayNewsDaily
   गंगालाल हृदयरोग उपचार केन्द्रमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गरिने  
प्याराओलम्प्किमा पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई चिकित्सकले निशुल्क स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र अस्पतालबीच खेलाडीलाई निशुल्क स्वास्थ्य परीक्षणगर्ने त्रिपक्षीय सम्झौता कार्यक्रमको शुभारम्भ गरिँदै । साथमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायत । तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौं । शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको हरेक वर्ष मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता गरिइएको हो ।     
     
आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रबीच उक्त सम्झौता भएको हो ।     
     
सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन केन्द्रले आफ्नै स्रोतबाट गर्नेछ । उक्त सम्झौता हरेक वर्ष नवीकरण गर्ने व्यवस्था गरिएको छ ।     
     
सो अवसरमा मन्त्री पौडेलले खेलाडीको स्वास्थ्य परीक्षणसम्बन्धी कार्यक्रमका लागि अर्को वर्ष थप स्रोत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।     
     
यस्तै, युवा तथा खेलकुदमन्त्री चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको जनाउँदै यसबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका सात सय ५७ खेलाडी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।     
     
कार्यक्रममा पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवद्र्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको सुरूआत गरिएको थियो । रासस  

 

 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update