RayNewsDaily
बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष बुढाको निधन    
उपाध्यक्ष भुपेन्द्रा बुढा । फाइल फोटो

बलेवा (बागलुङ) । बागलुङको गलकोट नगरपालिका-२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ ।     
     
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार रा१झ २०० नं को सरकारी जीप आज बिहान गलकोट-२ भुङ्खानीमा सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । तीनै जनाको घट्नास्थलमै ज्यान गएको उहाँले बताउनुभयो । घटनास्थलबाट एक घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ ।     
     
रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काका अनुसार उक्त जीपमा पुथाउत्तरगङ्गा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार थिए । उपाध्यक्ष बुढा केही दिनअघि आमालाई लिएर काठमाडौं जानुभएको जानकारी पाएको उहाँले बताउनुभयो ।     
     
दुर्घटनास्थलमा परिचयपत्र फेला परेपछि मात्र दुर्घटनामा उपाध्यक्ष बुढा परेको खुलेको थियो । बिहानै जीप दुर्घटनामा परे पनि स्थानीयले घाँस काट्न जाने बेला देखेपछि उनीहरुले स्थानीय प्रहरीलाई खबर गरेका थिए । जीपमा कति जना सवार थिए भन्ने यकिन नभएको सहायक प्रजिअ खड्काले बताउनुभयो । रासस  
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update