RayNewsDaily
सांसदको उपस्थिती कम भएकाेमा गुनासो   

काठमाडौं। सांसद रोशन कार्कीले बिनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरुको सहभागिता न्यून भएको भन्दै गुनासो गर्नुभएको छ ।    
    
प्रतिनिधिसभाको आजको बैठकमा उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटमा कुनै ‘कमा’ र ‘पूर्ण विराम’समेत परिवर्तन नहुने भएकाले छलफलमा सांसदको सहभागिता न्यून भएको बताउनुभयो । उहाँले उपराष्ट्रपति कार्यालयको प्रशासनिक खर्च कम गरी गरिब किसानलाई अनुदानको प्रबन्ध गर्न माग गर्नुभयो ।    
    
सांसद रञ्जुकुमारी झाले उपराष्ट्रपतिको पदीय जिम्मेवारी बढाउन माग गर्दै राष्ट्रियसभाको अध्यक्षको भूमिकासमेत दिन माग गर्नुभयो । उपराष्ट्रपति पदबाट हटेपछि दिनुपर्ने सुविधाका कारण पनि ठूलो खर्च बढेको भन्दै उहाँले त्यसलाई नियन्त्रण गर्नुपर्ने माग गर्नुभयो । बजेट विनियोजनका क्रममा कुनै सुशासनको प्रबन्ध नगरिएको दाबी गर्नुभयो ।    
    
सांसद अब्दुल खानले भारतको उदाहरण पेस गर्दै उपराष्ट्रपति कार्यालयको खर्च कटौती गर्नुपर्ने बताउनुभयो । संसारभरका देशका तुलनामा हाम्रो देशको आर्थिक अवस्था कमजोर रहेकाले बजेट विनियोजनको प्रबन्ध गर्न उहाँले माग गर्नुभयो । सांसद मानवीर राईले संविधान संशोधन गरेर उपराष्ट्रपतिको भूमिका बढाउन माग गर्नुभयो । उपराष्ट्रपतिको सल्लाहकार र सहयोगी बढी भएकाले त्यसलाई घटाउनुपर्ने उहाँको भनाइ छ ।    
    
सांसद बलराम अधिकारीले विनियोजन विधेयकका अधिकांश शीर्षक र पुस्तकमा अङ्ग्रेजी भाषाका अत्यधिक प्रयोग भएकामा आपत्ति प्रकट गर्नुभयो । उहाँले प्राकृतिक विपत्तिमा परेर देशव्यापी रुपमा जनधनको क्षति भए पनि राहतको प्रबन्ध नभएकामा गुनासो गर्नुभयो । यस्तै, सांसद अरुणकुमार चौधरीले जनताले सरकारको अनुभूति गर्न नसकेको गुनासो गर्नुभयो । योसँगै विनियोजन विधेयकमाथिको छलफल सकिएको छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update