RayNewsDaily
शेयर बजार २६०० विन्दुभन्दा तल

रे समाचार/काठमाडौं । केही दिनदेखि घट्दो क्रममा रहेकाे शेयर बजार आज पनि उच्च अंकले घटेकाे छ । आज शेयर बजार मापक नेप्से परिसूचक घटेर २६०० विन्दुभन्दा तल पुगेको छ । नेप्से परिसूचक करिब २ महिनापछि २६०० विन्दुभन्दा तल झरेको हो । यसअघि साउन १० गते नेप्से २६०० विन्दुभन्दा तल बन्द भएको थियो । 

आज नेप्से परिसूचक ५७.०३ अंक घटेर २५८०.७६ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। हिजो १० अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

नेप्से घटे पनि आज दुई वटा स्टकको शेयर भने सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, जनउत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने रावा इनर्जी डेभलपमेन्ट र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ । गुडविल फाइनान्सको शेयरमूल्य भने आज सर्वाधिक ९.९१ प्रतिशतले घटेको छ । यसैगरी, थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्यमा करिब साढे ९ प्रतिशतको गिरावट आएको छ ।

कारोबार रकमका आधारमा आज सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको करिब साढे २७ करोडको शेयर किनबेच भएको छ भने नेपाल फाइनान्सको करिब २१ करोडको शेयर कारोबार भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.६६ प्रतिशत घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । यसैगरी, बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update