RayNewsDaily
शेयर बजारमा झीनो गिरावट

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा सामान्य गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४ अंकले घटेर २५७६.७६ विन्दुमा झरेको छ ।

केही दिनदेखि बजार निरन्तरजसो घटेसँगै कारोबार रकममा पनि कमी आउन थालेको छ । आज ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिबिक्री भएको छ । आजको कारोबार रकम पछिल्लो करिब साढे २ महिनायताकै न्यून कारोबार हो । यसअघि गत असार २६ गते नेप्सेमा ५ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको थियो । सोपश्चात आज नै न्यून कारोबार भएको हो ।

आज कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.०८ प्रतिशतले वृद्धि भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ भने रावा इनर्जी र भूगोल इनर्जीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गुडविल फाइनान्सको शेयरमूल्य भने आज सर्वाधिक ६.७७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २० करोड ५८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, नेपाल फाइनान्सको करिब १७ करोडको शेयर कारोबार भएको छ भने एनएलजी इन्स्योरेन्सको करिब १६ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज दुई वटा उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update