RayNewsDaily
१६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

रे समाचार/काठमाडौं । संसदीय सुनुवाइ समितिले १६ जना राजदूतको नाम बहुमतबाट अनुमोदन गरेको छ ।

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन हुन बाँकी छ । समिति सभापति ईश्वरी न्यौपानेका अनुसार श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको कागजात नपुगेकाले नाम अनुमोदन हुन नसकेको हो ।

उहाँकाे कागजात मगाउन निर्देशन दिइएको र आएपछि अनुमोदन हुने सभापति न्यौपानेले बताउनु भयो ।

बहुमतबाट नाम अनुमोदन भएको राजदूतमा पनि दुई सांसदले फरक मत राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल र जनता समाजवादी पार्टी, नेपालका प्रकाश अधिकारीले केही राजदूतहरुको नाममा फरक मत राख्नुभएको हो ।

अर्यालले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ, इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनालाई राजदूत बनाउन नहुने मत राख्नुभएको थियो । सांसद अधिकारीले भारतका लागि प्रस्तावित डा. शंकर शर्माको नाममा पनि असहमति राख्नुभएको बताइएको छ । दुई जना सांसदको असहमति हुँदा पनि बहुमतबाट प्रस्तावित राजदूतहरुको नाम समितिले अनुमोदन गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update