रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजार मापक नेप्से आज भने सामान्य बढेर बन्द भएको छ ।
आज नेप्से परिसूचक ११.५८ अंक बढेर २५८८.३५ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ५ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ३ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
इष्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र अप्पर साङ्गे हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, सयपत्री हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्यमा सर्वाधिक ८.६५ प्रतिशतको गिरावट आएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २७ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, एनएलजी इन्स्योरेन्सको साढे १४ करोडको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको करिब १३ करोडको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले बढेको छ । बाँकी ७ उपसमूहको परिसूचक सामान्य वृद्धि भएको छ । वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचकमा भने सामान्य गिरावट आएको छ ।