रे समाचार/काठमाडौं । केही दिनदेखि घट्दो क्रममा रहेको शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ ।शेयर बजार मापक नेप्से परिसूचक आज ५९.०२ अंक घटेर २५२९.३३ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ ।
हिजो ५ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज हिमालयन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने रावा इनर्जी डेभलपमेन्ट, नेपाल फाइनान्स र मातृभूमि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
आज ४ वटा स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड र इष्टर्न हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको २१ करोड १३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यसैगरी, सिईडिबी हाइड्रोपावर डेभलपमेन्टको करिब साढे १३ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे १२ करोडको शेयर कारोबार भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.५६ प्रतिशत घटेको छ । यसैगरी, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचकमा ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ भने विकास बैंक, जलविद्युत्, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।