रे समाचार/काठमाडौं । शेयर बजारमा आज पनि उच्च अंकको गिरावट आई नेप्से परिसूचक २५ सय विन्दुभन्दा तल पुगेको छ । शेयर बजार मापक नेप्से नेप्से परिसूचक आज ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा झरेको हो ।
आज कारोबार रकम हिजोको तुलनामा सामान्य वृद्धि भएको छ । हिजो ५ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.८३ प्रतिशतले वृद्धि भएको छ । अन्य स्टकहरूको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ । हिमालयन हाइड्रोपावरको शेयरमूल्य आज सर्वाधिक १० प्रतिशतले घटेको छ । यसैगरी, नेपाल फाइनान्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले घटेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा करिब ८ प्रतिशतको गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको १८ करोड ४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साढे १७ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे १४ करोडभन्दा बढिको शेयर किनबेच भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.६० प्रतिशतले घटेको छ । विकास बैंक उपसमूहको परिसूचकमा ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।