RayNewsDaily
कोरला नाकामा सञ्चार सुविधा विस्तार        

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ ।     
     
बागलुङस्थित नेपाल टेलिकमका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बिटिएस टावर खडागरी मङ्गलबारदेखि सेवा प्रारम्भ भएको होे ।     
     
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सञ्चार सुविधा भएपछि स्थानीयवासी, व्यापारी, सुरक्षाकर्मी, भन्सारका कर्मचारी र कोरला नाका पुग्ने जोकोहीलाई सञ्चार गर्न सहज भएको बताउनुभयो ।     
     
एक वर्षअघि सञ्चालनमा आएको कोरला नाकामा गत वैशाखमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको थियो । नाकामा गण्डकी प्रदेश सरकारको लगानीमा गत साउनमा निर्माण भएका भवनमा अध्यागमन, भन्सार, सुरक्षा निकायको कार्यालय स्थापना गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।     
     
मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ-लिचीसम्म व्यापार गर्न नियमित रूपमा आवतजावत गर्दै आएका छन् । रासस   

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update