रे समाचार/काठमाडौं । पछिल्ला दुई कारोबार दिनमा निरन्तर घटेर बन्द भएको शेयर बजार आज भने वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४९.१८ अंकले वृद्धि भई २५१९.५७ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ ।
आज वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे ३ प्रतिशत बढेको छ भने विकास बैंक र जलविद्युत् उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज ५ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् कम्पनी र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, माथिल्लो मैलुङ्ग खोला जलविद्युत् कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतले वृद्धि भएको छ । हिमालयन हाइड्रोपावरको शेयरमूल्यमा भने सर्वाधिक ६.३६ प्रतिशतको गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १५ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, अरुण भ्याली हाइड्रोपावरको साढे १३ करोडको शेयर कारोबार भएको छ भने सिईडिबि हाइड्रोपावर एण्ड डेभलपमेन्टको १३ करोड बरारको शेयर किनबेच भएको छ ।