RayNewsDaily
मकवानपुरको सिस्नेरीमा बाढीले ३० वटा घर बगायो, खानीखेतका २८ वटा घर डुबानमा

मकवानपुर । अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिनुभयो ।

बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज विहान बाँधका दुई वटा ढोका खोलिएको थियो । विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ । बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ ।

राससका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाण्डू सडक अवरुद्ध भएको छ । पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाण्डू, कुलेखानी–फाखेल–काठमाण्डू, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।

स्थानीय तह, सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो । साथै निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउनसक्ने बाढी, पहिरो, डुबनलगायतको अवस्थालाई मध्यनजर गरी जिल्लास्थित सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्था राखिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update