रमेश हतुवाली/काठमाण्डू । जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा काठमाण्डूमा भव्य समारोहको आयोजना गरिएको छ ।
नेपालस्थित चिनियाँ राजदूतावासले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा शुक्रबार साँझ विविध साँस्कृतिक कार्यक्रम सहित जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको हो ।
सो समारोहमा मन्तब्य व्यक्त गर्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ वर्ष मानवजातिको इतिहासमा छोटो समय भएपनि चिनियाँ जनता र चीन राष्ट्रका लागि विश्वनै फेरिए जस्तो ठूलो परिवर्तनको समय भएको बताउनुभयो ।
जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा काठमाण्डूमा भव्य समारोह आयोजना, विगत ७५ वर्षमा चीनले खडा हुने र धनी बन्नेदेखि बलियो बन्ने सम्मको ठूलो फड्को मारेको नेपालका लागि चिनियाँ राजदूतको भनाइ ।।
विगत ७५ वर्षमा चीनले खडा हुने र धनी बन्नेदेखि बलियो बन्ने सम्मको ठूलो फड्को मारेको जानकारी दिनुहुँदै राजदूत छन् सोङले चीन राष्ट्रको महान कायाकल्प एउटा अपरिवर्तनीय ऐतिहासिक प्रक्रियामा प्रवेश गरेको बताउनुभयो ।
चिनियाँ राजदूत राजदूत छन् सोङले विगत ७५ वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीले प्रमुख ऐतिहासिक मुद्धाहरुलाई प्रमुख ऐतिहासिक मोडहरुमा रणनीतिक रुपमा बुझेको, विश्लेषण गरेको र न्याय गरेको बताउनुभयो ।
७५ वर्षको अवधिमा चीनले प्राप्त गरेका उपलब्धिहरु बारे जानकारी दिनुहुँदै राजदूत छन् सोङले नयाँ युगको प्रारम्भदेखि हालसम्म चीनको २ लाख ५५ हजार गाउँ टोली, ३० लाख भन्दा बढी प्रथम सचिव र नगरकार्यकर्ता साथै लाखौं गाउँकार्यकर्ताहरुले गरिबी विरुद्धको ऐतिहासिक लडाई जितेको जानकारी दिनुभयो ।
चीन र नेपालबीच ६९ वर्ष अघि कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशले आफ्नो मूल हितका विषयमा एकअर्कालाई निरन्तर सहयोग गर्दै आएको राजदूत छन् सोङको भनाई छ । नेपालको विकास र समृद्धि देखेर चीन खुसी रहेको बताउनुहुँदै चिनियाँ राजदूत छन् सोङले बलियो र स्वतन्त्र नेपालले चीन र नेपाली जनताको साझा हितलाई राम्रोसँग सेवागर्ने विश्वास व्यक्त गर्नुभयो ।
उपराष्ट्रपति राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, पूर्वसभामुख अग्नि प्रसाद सापकोटा, विभिन्न राजनीतिक दलका नेताहरु, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरु, नेपालस्थित विभिन्न देशका कुटनीतिक नियोगका पदाधिकारी, समाजसेवी, कर्मचारी, विद्यार्थी र मैत्री संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो । सो समारोहमा नेपाली तथा चिनियाँ विद्यार्थी र कलाकारहरुले चिनियाँ तथा नेपाली साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।