RayNewsDaily
नेपाल र चीनबीचको मित्रताले नयाँ अध्यायको ढोका खोलेको छ : अध्यक्ष दाहाल

रमेश हतुवाली/काठमाण्डू । ‘नयाँ चीन स्थापनाको ७५औँ वार्षिकोत्सव’का अवसरमा नेपाल-चीन मैत्री युवा संघ र फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटिएन) नेपाली सेवासँगको सहकार्यमा ‘बीआरआई अवसर र चुनौती’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।

काठमाण्डूको टोखामा आज आयोजना गरिएको सो अन्तरक्रियाका वक्ताहरुले चीनको महत्वकांक्षी तथा विश्वव्यापी परियोजना बीआरआई नेपाल र नेपालीको हितमा रहेकोले यसलाई अविलम्ब कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिएका थिए । 

अन्तरक्रियामा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल र चीनवीच सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक र राजनीतिक सम्बन्ध परापूर्वकालदेखि बलियो र मित्रवत सम्वन्ध भएको उल्लेख गर्दै चीनका राष्ट्रपति सि चिन फिङको नेतृत्वमा अगाडि सारिएको विश्वव्यापी परियोजना बीआरआर्ईमा नेपालले हस्ताक्षर गरिसकेको हुँदा यसको कार्यान्वयन गरि यसबाट भरपुर लाभ लिन सक्नुपर्ने बताउनुभयो । 

अध्यक्ष दाहालको मन्तब्यको पूर्ण पाठ :

सर्व प्रथम नेपालको असल छिमेकी देश जनवादी गणतन्त्र चीन स्थापना भएको ७५ औं वार्षिकोत्सवको सुखद अवसरमा चीन सरकार तथा चिनियाँ जनताको निरन्तर प्रगतिको कामना गर्दै नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनहरुमा अझ प्रगाढ र हराभारा हुने विश्वास व्यक्त गर्दछु ।

नेपाल र चीन ऐतिहासिक कालदेखिका असल छिमेकी र असल मित्र हुन् । हिमाल, पहाड र नदीहरुले परापूर्वकालदेखिनै हामी दुई देशलाई मित्रता र भातृत्वको कोमल बन्धनमा बाँधेका छन् । हामी दुई देशका सरकार र जनताबीच हजारौं वर्षदेखि सामाजिक, आर्थिक, धार्मिक, साँस्कृतिक तथा राजनीतिक सम्बन्ध जोडिँदै आएको छ ।

सन् १९५५ अगस्त १ तारिखका दिन नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएपछि हामीबीचको सम्बन्धका रेखाहरु अझ फराकिला र घनिष्ठ हुन थाले । दुवै देशका उच्च नेताहरुको भ्रमणको आदान प्रदानले सरकार सरकारबीच बलियो सम्बन्ध विस्तार गर्न मद्दत पुर्याएको छ भने विभिन्न मैत्री संस्था, व्यापारीक प्रतिष्ठान र साँस्कृतिक केन्द्रहरुको माध्यमबाट जनस्तरमा पनि सम्बन्ध झाङ्गिदै गएको छ ।
 

चिनियाँ जनताका प्रिय नेता तथा विश्व सर्वहारा बर्गका महान नायक कमरेड माओ चतोङको कुशल नेतृत्वमा सन् १९४९ अक्टोबर १ तारिखका दिन नयाँ चीनको स्थापना भएपछि नेपाल र चीनबीचको सम्बन्ध क्रमिक रुपमा आधुनिक युगतिर प्रवेश गरेको हो । एक असल छिमेकीको नाताले चीनले नेपालको भौतिक पूर्वाधार विकासमा सक्दो सहयोग पुर्याउँदै आएको छ भने नेपालको शैक्षिक तथा पर्यटन क्षेत्रको विकासमा पनि चीनको सहयोग महत्वपूर्ण रहेको छ । त्यसैैगरी नेपालले एक चीनप्रतिको प्रतिवद्धतालाई मन, वचन र कर्मले पुरा गर्दै आएको छ भने तिब्बत र ताईवानलाई चीनको अभिन्न अंगको रुपमा मान्यता प्रदान गरेको छ । त्यत्तिमात्र नभएर विश्व शान्ति र विश्वभरीका जनताबीचको एकता र साझा विकासलाई नेपाल र चीनले विश्व रंगमञ्चमा एकसाथ उठाईरहेका छन् । 

सन् १९७९ मा सुधार र खुलापनको बाटो अबलम्वन गरेपछि चीनले द्रत गतिमा आर्थिक विकास गर्न सफल भएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको चीनले गरेका विकास निर्माणबाट सिंगो संसार चकित भएको छ । एक असल छिमेकी चीनले गरेको विविध क्षेत्रको विकासले नेपाल लगायतका छिमेकी देशहरु पनि लाभान्वित हुने कुरामा शंका छैन । 

नेपालले तय गरेका १७ वटा दिगो विकासका लक्ष्यहरू सन् २०३० सम्ममा पूरा गर्नुपर्ने आवश्यकता हामी माझ रहेको छ । ती लक्ष्यहरु पुरा गर्न छिमेकी चीनको उच्च प्रविधि र सीपको उपयोग तथा हस्तान्तरण नेपालका लागि महत्वपूर्ण हुन्छ । 

चीनको वैज्ञानिक तथा प्राविधिक शक्तिको सुधारले चिनियाँ जनतालाई मात्र होइन, अन्तर्राष्ट्रिय समुदायलाई पनि फाइदा पु-याइरहेको चिनियाँ नेताहरुको भनाइलाई मध्यनजर गर्ने हो भने चीनले १ सय ६० भन्दा बढी देश र क्षेत्रहरुसँग वैज्ञानिक र प्राविधिक सहयोग सम्बन्ध स्थापित गरिसकेको अवस्थामा नेपालले एक असल छिमेकीको नाताले चीनबाट प्रशस्त फाईदा लिन सक्ने देखिन्छ । 

नेपाल र चीनबीचको सम्बन्ध मित्रता, आपसी विश्वास र साझेदारीमा आधारित रहेको छ । दुई देशले विकास र समृद्धितर्फको चाहाना पुरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । आउने वर्ष नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुरा हुँदैछ । सात दशक लामो आधुनिक सम्बन्धको मूल्याङ्कन गर्दा नेपाल र चीनबीचको मित्रताले नयाँ अध्यायको ढोका खोलेको स्पष्ट हुन्छ ।

बीआरआई चीनका महामहिम राष्ट्रपति सि चिनफिङको नेतृत्वमा सन् २०१३ मा सुरु गरिएको महत्वपूर्ण विश्वव्यापी परियोजना हो । यस परियोजनाले पूर्वाधार विकास, व्यापार, विस्तार र अन्तरदेशीय सम्पर्क सञ्जाललाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको  छ । नेपाल र चीन दुवै देशले सन् २०१७ मे १२ मा बीआरआई ढाँचाभित्र  द्विपक्षीय सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको तर्फबाट बीआरआई परियोजना समझदारीमा हस्ताक्षर गर्नुभएको थियो । 

चीनको वैज्ञानिक तथा प्राविधिक शक्तिको सुधारले चिनियाँ जनतालाई मात्र होइन, अन्तर्राष्ट्रिय समुदायलाई पनि फाइदा पु-याइरहेको चिनियाँ नेताहरुको भनाइलाई मध्यनजर गर्ने हो भने चीनले १ सय ६० भन्दा बढी देश र क्षेत्रहरुसँग वैज्ञानिक र प्राविधिक सहयोग सम्बन्ध स्थापित गरिसकेको अवस्थामा नेपालले एक असल छिमेकीको नाताले चीनबाट प्रशस्त फाईदा लिन सक्ने देखिन्छ । 

अहिले आधुनिक चीन निर्माणमा महामहिम राष्ट्रपति सि चिनफिङको कुशल र दूरदर्शी नेतृत्वको महत्वबारे बोलीरहनु नपर्ला । चीनलाई आर्थिक समृद्धि गराउन र विश्व अर्थतन्त्रलाई नेतृत्व गर्न महामहिम राष्ट्रपति सफल हुनुभएको कुरा विश्व सामु प्रष्टै छ । 

छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ (बीआरआई) परियोजनाले विश्वको ध्यान तान्न सफल भएको छ । नेपाल र चीन यी दुवै देशले सन् २०१७ मे १२ मा बिआरआई ढाँचाभित्र द्विपक्षीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सन् २०१७ को मे १४ र १५ मा भएको पहिलो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसन’ मा नेपाल सहभागी भएको थियो । त्यसैगरी सन् २०१९ मा भएको दोस्रो बीआरआई सम्मेलनमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुभएको थियो । सो सम्मेलनले संयुक्त राष्ट्रसंघको २०३० को दीर्घकालीन विकासको एजेण्डालाई पुनः समर्थन गरेको थियो ।

चीनले सधैं नेपालको आर्थिक विकास र समृद्धिलाई खुशीको विषय मान्दै आएको कुरा चीनका नेताहरुले समय समयमा व्यक्त गर्दै आउनु भएको छ । नेपालको आर्थिक र सामाजिक विकासको लागि सके जति मद्दत गर्न चीन तयार रहेको जानकारी हामीले प्राप्त गरिरहेका छौं । 

बेल्ट एण्ड रोड परियोजनामा नेपाल जोडिनुको मुख्य कारण नेपाली जनताको समृद्धिको चाहना र नेपालको विकास निर्माण पुरा हुन्छ भन्नु नै हो । दुई देशका नेताहरुबीच वेला वेलामा भएका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, ‘बेल्ट एण्ड रोड’ परियोजना मार्फत उच्च गुणस्तरको निर्माणलाई अवसरका रूपमा लिन, आपसी सहयोगका बिन्दुहरू विस्तार गरी अझ फराकिलो बनाउन र सहयोगका नयाँ नयाँ क्षेत्रहरु विकास गर्न हामी लालायीत छौं । साथै ‘बेल्ट एण्ड रोड’ परियोजना नेपाली जनताको अधिकतम् हितमा कसरी प्रयोग हुन सक्छ भन्ने बारेमा हामीले गहिरो चिन्नन मनन् गर्ने समय आएको छ ।

पूर्वाधार विकास, कनेक्टिभिटी र आर्थिक सहयोग अभिवृद्धिमा बीआरआईले जोड दिएको हुनाले पनि हामीले यस परियोजनालाई नेपाली जनताको भाग्य र भविष्यसँग जोड्न सकिन्छ भन्ने अटल विश्वास लिएका हौं । नेपाल र चीनबीचको सम्बन्ध सदियौँ पुरानो रहेको साथै पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित रहेको हुनाले पनि हामी चीनसँग मिलेर काम गर्न पाएकोमा खुशी छौं । पछिल्ला वर्षहरुमा नेपाल र चीनबीच राजनीतिक तथा आर्थिक क्षेत्रमा मात्र नभई सांस्कृतिक, शैक्षिक, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा पनि सम्बन्ध प्रगाढ हुँदै गएको छ ।

आउने दिनहरुमा बीआरआई मार्फत उर्जा, सडक, पुल, रेल सम्पर्क विस्तार लगायतका ठूला ठूला परियोजनामा नेपाल र चीनबीच साझेदारी हुने हाम्रो विश्वास छ । साथै दुुई देशबीचको पारस्परिक सहयोगलाई दिगो बनाउन जनता–जनताबीचको सम्बन्धलाई सुदृढ पार्नु पनि आजको आवश्यकता हो । अतः बीआरआई परियोजनामार्फत नेपाल र चीनले महत्वपूर्ण उपलब्धि हासिल गर्ने कुरामा आशावादी हुन सक्ने प्रशस्त सम्भावनाहरु रहेका छन् । 

अन्तमा, यस महत्वपूर्ण कार्यक्रममा आमन्त्रण गर्नुभइ मेरा विचारहरु राख्ने अवसर प्रदान गर्नुभएकोमा कार्यक्रम आयोजक संस्था नेपाल-चीन मैत्री युवा संघ, फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्ट र चाईना ग्लोवल टेलिभिजन नेटवर्क (सीजीटिएन) नेपालीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट बीदा हुन्छु । नमस्कार 
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  २२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update