RayNewsDaily
शेयर बजारमा २२ अंकको गिरावट

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २२.३६ अंक घटेर २४६४.४० विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ ।

गत बिहीबार ४ अर्ब ८४ करोडको शेयर कारोबार भएकोमा आज ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.५५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, कुमारी सबल योजनाको मूल्य साढे ६ प्रतिशतले वृद्धि भएको छ भने इंगवा हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतले बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । अप्पर साङ्गे हाइड्रोपावरको शेयर भने नकराात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

सो कम्पनीको शेयरमूल्य आज ८९ रुपैयाँ ४० पैसा घटेर ८०५ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ । कारोबार रकमका आधारमा आज एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको १५ करोड ९२ लाख ३० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने अपि पावरको करिब १४ करोडको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.०३ प्रतिशतले वृद्धि भएको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.९७ प्रतिशत घटेको छ । जलविद्युत् उपसमूहको परिसूचक आज २ प्रतिशतभन्दा बढीले घटेको छ भने वित्त, होटल तथा पर्यटन, लगानी, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update