रे समाचार/काठमाडौं । आज शेयर बजार उच्च अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि वृद्धि भएको छ ।
हिजो ३ अर्ब ७१ करोडको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज वित्त कम्पनीहरुमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको छ । १३ उपसमूहमध्ये आज वित्त उपसमूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, लगानी उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढीले बढेको छ । जीवन बीमा र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
आज २३ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बुटवल पावर कम्पनी, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स समृद्धि फाइनान्स लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएका हुन् ।
कारोबार रकमका आधारमा आज एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको आज २८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको साढे २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनन्सको साढे २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।