RayNewsDaily
दाउन्नेमा बिजुलीको टावर ढल्दा सिमेन्ट उत्पादनमा समस्या        

काठमाडौं । अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट-सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिका-५ दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएपछि त्यस भन्दामाथि डाँडामा रहेको प्रसारणलाइनको टावर ढलेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।     
     
टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझदेखि बन्द भएको छ ।     
     
होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सोझै सेवा लिइरहेको थियो । उद्योगले ३१ मेगावाटको विद्युत्भार (लोड) स्वीकृत पाएको छ । त्यसमध्ये हाल दैनिक रुपमा १० मेगावाटलोड लिइरहेको प्राधिकरणको कावासोती वितरण केन्द्रले जनाएको छ ।     
     
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पु¥याउने घोषणा अनुसार होङ्शीलाई विद्युत् आपूर्तिका लागि बर्दघाट-सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको थियो । डबल सर्किटमध्ये एउटा सर्किट मात्र सञ्चालन (चार्ज)मा थियो । उद्योगलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिने तयारी भइरहेको प्राधिकरण बुटवल ग्रीड महाशाखाले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update