रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । भोलि बिहीवार बडादशैँको घटस्थापना परेकोले सार्वजनिक बिदा हुने भएकोले यो साता आज नै अन्तिम कारवबार भएको हो । हिजो करिब ११५ अंक बढेर बन्द भएको शेयर बजार मापक नेप्सेमा आज भने दोहोरो अंकको गिरावट आएको हो ।
आज नेप्से परिसूचक २६.०७ अंक घटेर २५९७.४९ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। हिजो ७ अर्ब ६१ करोडको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि आज थ्रिस्टार हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने इष्टर्न हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ । विन नेपाल लघुवित्तको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको २० करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी हिमालयन रि इन्स्योरेन्सको १७ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने गुडविल फाइनान्सको करिब १६ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज वित्त उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक १.७५ प्रतिशतले वृद्धि भएको छ ।