रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार बढेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ५६.०९ अंकले वृद्धि भई २६५३.५८ विन्दुमा पुगेको छ ।
आज फाइनान्स उपसमूहमा लगानीकर्ताहरूको उच्च आकर्षण देखिएको छ । १३ उपसमूहमध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ६.३० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक र जलविद्युत् उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नेप्से बढे पनि आज कारोबार रकम भने सामान्य घटेको छ । गत बुधबार ६ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
कारोबार रकमका आधारमा आज साहस ऊर्जा लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ६३ करोड ८३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । संस्थापक शेयर आजबाट विक्री खुला भएकोले साहस ऊर्जाको बढी कारोबार भएको हो । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे २५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको करिब १६ करोडको शेयर किनबेच भएको छ ।
आज न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मध्य भोटेकाशी जलविद्युत् कम्पनी र इष्टर्न हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।