रे समाचार/काठमाडौं । शेयर बजार आज पनि उच्च अंकले वृद्धि भएको छ । हिजो ५६ अंकले वृद्धि भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आज नेप्से परिसूचक ३७.१३ अंक बढेर २६९०.७२ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, दोल्ती पावरको शेयरमूल्य साढे ९ प्रतिशतले बढेको छ भने एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमूल्य करिब ९ प्रतिशतले बढेको छ । इष्टर्न हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज चन्द्रागिरी हिल्स लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड २३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब २४ करोडको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने बैंकिङ्ग, विकास बैंक, जलविद्युत्, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ ।