रे समाचार/काठमाण्डू । दुई कारोबार दिन लगातार बढेको शेयर बजारमा आज भने दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २७.३९ अंक घटेर २६६३.३२ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
यसैगरी, बुटवल पावर कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशतले वृद्धि भएको छ भने माण्डु हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ । इष्टर्न हाइड्रोपावरको शेयरमूल्यमा भने आज सर्वाधिक ८.५० प्रतिशतको गिरावट आएको छ । यसैगरी, बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य पनि ७ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको २७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल फाइनान्सको करिब २४ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे १३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । एनआईसी एशिया बैंकको करिब १३ करोडको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक घटेको छ भने एउटा उपसमूहको परिसूचक स्थिर रहेको छ । आज वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७६ प्रतिशतले घटेको छ । यसैगरी, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।